Latest Updates :

विप्लव पार्टीलाई बन्देज गरेको २४ घण्टा नबित्दै नेपाली सेनाले राख्यो यस्तो माग (भिडियो सहित )

SHARE THIS POST :
फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शवलाई घटनास्थलबाट लिफ्ट गरेर सुकेटार विमानस्थल ल्याउन नेपाली सेनाको हेलिकप्टर प्रयोग भयो।

चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा १६ औं अनसन बसेका गोविन्द केसीलाई गत पुसमा काठमाडौं ल्याउन पनि सेनाको नाइट भिजन हेलिकप्टर प्रयोग गरियो।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्रीलगायतका विशिष्ट व्यक्तिले सेनाकै हेलिकप्टर प्रयोग गर्छन्। बिकट पहाडी भू-भागमा सडक खन्ने क्रममा आवश्यक सामाग्री पनि हेलिकप्टरबाटै ओसार्ने गरिन्छ।

बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपत्तिमा पनि उद्धारका लागि सेनाको हेलिकप्टर नै अन्तिम विकल्प बन्छ।

यी काम गर्न सेनासँग अहिले १६ वटा हेलिकप्टर/जहाज छन्। तीमध्ये पनि १० वटामात्र सञ्चालनमा छन्। सेनाले अझै १५ वटा हेलिकप्टर/जहाज आवश्यक भएको बताएको छ।

‘नेपालको भौगोलिक अवस्था दैवी प्रकोपको चुनौतीलगायतको समस्याले हामीलाइ पर्याप्त हवाइ साधन चाहिन्छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले सेतोपाटीसँग भने, ‘हामीलाई ३१ वटा हेलिकप्टर चाहिने हो तर अहिले १६ वटा मात्रै छन्।’

देश संघीयतामा गएसँगै सेनाले आफ्नो हवाइ सेवालाई पनि विकेन्द्रीकृत गर्ने योजना बनाएको छ।

हेलिकप्टर सेवालाई सञ्चालन गर्न सेनामा छुट्टै हवाइ सेवा महानिर्देशनालय छ।

महानिर्देशनालयले अब देशका सातै प्रदेश समेट्ने गरी विभिन्न भागमा हवाइ वेस राख्ने योजना बनाएको छ।

प्रदेश १ र २ का लागि विराटनगरमा पूर्वी एयर वेस, विशिष्ट उडान सेवा तथा प्रदेश ३, गण्डकी र प्रदेश ५ लाई समेट्ने गरी काठमाडौंमा मध्य एयर वेस राख्ने सेनाको योजना छ।

पश्चिम एयर वेस कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राख्ने र त्यसले सुदुरपश्चिम प्रदेशलाई पनि समेटने सेनाको योजनामा उल्लेख छ। हवाइ तालिम केन्द्र पनि सुर्खेतमा राख्ने सेनाको प्रस्ताव छ।

दीर्घकालीन हवाइ योजनाअन्तर्गत बाँडफाँड हुने हेलिकप्टर/जहाजको समेत सेनाले सूची तयार पारिसकेको छ। जसमध्ये मध्य एयर वेसअन्तर्गत १३ वटा हेलिकप्टर/जहाज रहनेछन्।

भिभिआइपी उडान सेवामा ४ वटा हेलिकप्टर प्रयोग हुनेछन्। पश्चिम एयर वेशमा ८ र पूर्वी एयर वेशमा ४ वटा हेलिकप्टर/जहाज प्रयोग गर्ने सेनाको प्रस्ताव छ। एभियसन तालिम केन्द्रका लागि २ वटा जहाज प्रस्ताव गरिएको छ।

सेनाले केही समयअघि अमेरिकन हेलिकप्टर बेल र इटालियन हेलिकप्टर अगुष्टा ल्याएको थियो। यीसँगै अहिले सेनासँग इकुरेल ३, बेल २, लाञ्चर २, एएलएच १, ४ वटा एमआई १७, स्काइ ट्रक १ र आइल्याण्डर १ हेलिकप्टर छन्। जसमध्ये इकुरेल, बेल, लाञ्चर, एमआइ १७, स्काइ ट्रक र आइल्याण्डर गरी ६ वटा सञ्चालनमा छैनन्।

अमेरिकी एयरक्राफ्ट ट्रेनर आउने क्रममा रहेको सैनिक स्रोतले जनाएको छ। एउटा इण्डोनेसियन एयर क्राफ्ट, दुइटा रसियामा बनेका एमआई-१७ र एउटा अगुस्टा खरिदको प्रक्रियामा रहेको सेनाले जनाएको छ।

१७ वर्षअघि अमेरिकाले दिने भनेको हेलिकप्टर अझै आएनन्

सन २००२ मा अमेरिकाले ६ वटा नेपाललाई हेलिकप्टर दिने भने पनि अहिलेसम्म दिएको छैन। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा अमेरिकाले नेपाललाई ६ वटा हेलिकप्टर अनुदानमा दिने प्रतिवद्धता जनाएको थियो। त्यतिबेला मुलुकमा माओवादी सशस्त्र युद्ध चलेको थियो। माओवादीविरूद्ध सेना परिचालित थियो।

अमेरिकाले दिने अनुदानको हेलिकप्टर नआएकै कारणले सेनाले अन्य हेलिकप्टर किन्ने प्रक्रिया अघि बढाएको हो। सन २०१४ मा हेलिकप्टर नभइ जहाज दिने भनिए पनि प्रतिवद्धता जनाएको पाँच वर्षसम्म पनि केही आएको छैन।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger