यदि यात्रु विरामी परे परिवारलाई खबर गर्नू, अस्पतालसम्म पुर्याउने उनकै जिम्मेवारी हुन्छ । कतिपय बेला ट्याक्सी चालकले सवारीमा छुटेको लाखौ रुपैयाँ फिर्ता गरेका उदाहरण पनि छन् । तर, काठमाडौंमा एक ट्याक्सी चालकले यात्रुलाई हृदयघात भएपछि अस्पताल पुर्याउनु त परको कुरा जबरजस्ती गाडीबाट निकालेर सडकमै अलपत्र छाडेका छन् ।
१२ बजे श्रेष्ठको ट्याक्सीमा गोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल रञ्जित चढेका थिए
उनले मानवीयता समेत भूलेको दृश्य सीसीटीभी फुटेजमा कैद भएको छ । त्यसकै आधारमा प्रहरीले बा १ ख ३८५१ नम्बरका ट्याक्सी चालक कमलबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।
उनलाई महानगरीय प्रहरी वृत्त, गौशालाको टोलीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार बुधबार दिउँसो करिब १२ बजे श्रेष्ठको ट्याक्सीमा गोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल रञ्जित चढेका थिए ।
छोरा प्रविणले उनलाई ट्याक्सीमा चढाएर आफू मोटरसाइकलमा हिँडेका थिए । तर, ट्याक्सी चढेको २० मिनेटभित्र रञ्जितलाई रोगले च्याप्छ ।
त्यो देखेका आत्तिएका ट्याक्सी चालकले उनलाई नजिकै रहेको अस्पताल लानुको साटो जबरजस्ती ट्याक्सीबाट निकाल्छन् । केहीवेरमा नजिकै रहेको प्रहरी कार्यालयका अधिकारीले उनलाई हेल्पिङ ह्याण्डस् हस्पिटलमा पुर्याउँछन् । तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गर्छन् ।
त्यसपछि सीसी टीभी फुटेजको आधारमा ट्याक्सी चालकको खोजी गरिएको डीएसपी बोगटी बताउँछन् । ‘हामीले हिजो राति उनलाई पक्राउ गर्न सफल भएका छौं’, उनले भने, ‘हाल अभद्र व्यवहार कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान थालिएको छ ।ं’
बोगटीका अनुसार उनले बयानमा अत्तालिएर विरामीलाई निकालेको दाबी गरेका छन् । यद्यपि, उनको हर्कतको पछाडि कुनै नियत थियो या थिएन भन्ने विषयमा प्रहरीले छानबिन गरिरहेको छ । ‘पोस्टमार्टमका लागि हामीले शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएका छौं’, उनले भने, ‘रिपोर्टले मृत्युको कारण देखाएपछि थप निष्कर्ष निस्किएला ।’
Post a Comment