नेपालका छोरा सुरोत्तमका अनुसार बुबा घरमा नभएको बेला बिहानै सात जनाको प्रहरी टोली आएको र ती मध्ये दुईले खानतलासी गरेका हुन् । उनले भने, ‘बुबा घरमा नभएको भनेपछि दुई जना प्रहरी घरभित्र पसेर छतसम्म पुगे । एकजना सादा पोशाकका र अर्को १ जना बर्दीधारी थिए ।’ फणीन्द्र नेपालले भने खानतलासी र पक्राउ पूर्जी बिना घरभित्रै धरपकडको प्रयास गरिएको भन्दै फेसबुकमार्फत विरोध जनाएका छन् । ‘यस प्रकारको प्रहरी क्रियाकलापले नागरिकको वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको हनन भएसँगै मेरो मानवअधिकारको पनि हनन भएको छ,’ नेपालले भनेका छन्, ‘सरकारले यस्तो आतंक बन्द गरोस् भन्ने चाहन्छु ।’
सुरोत्तमका अनुसार केही प्रहरीले खानतलासी गरिरहेका बखत थप ६ जना प्रहरी पनि घरभित्र छिर्न खोजेपछि आफुहरूलाई खानतलासी पुर्जी दिन माग गरेका थिए । प्रवेश गर्न नदिने भन्दै प्रतिवाद गरेपछि प्रहरीहरु फर्किएको सुरोत्तमले बताए । अभियन्ता नेपालले पहिल्यै अनुमान लगाइसकेका थिए र उनले यो संकेत अन्य साथीहरूलाईसमेत सामाजिक सञ्जालमार्फत सजक रहन आव्हान गरेका थिए । उनले लेखेका थिए, ‘भारतका विदेश सचिव विजय गोखले भोलि बिहीबार काठमाडाैं आउँदा कसरी र कुन शैलीमा विरोध गर्ने भन्ने विषयमा छलफल हुँदैछ । नेपाल प्रहरीले निगरानी राखेको हुन सक्छ । तसर्थ, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका साथीहरु सचेत र सतर्क भएर बस्नुहोला ।’ उनले विगत १५ बर्षदेखि निरन्तर नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार बर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालन गर्दै आएका छन् ।
Post a Comment