गत बिहीबार भएको आत्मघाती आक्रमणको अनुसन्धान एवं आक्रमणकारीको खोजीमा निस्केका सैनिकमाथि विद्रोहीले आक्रमण गरेको बताइएको छ। भिडन्तका क्रममा एक सैनिक र अर्का एक सर्वसाधारण घाइते भएका छन्। भारत प्रशासित काश्मिरको प्रमुख शहर श्रीनगरबाट ४० किलोमिटर दक्षिणमा यो गोली हानाहान भएको बताइएको छ।
पुल्वामामा भएको आत्मघाती आक्रमणमा पाकिस्तानको हात रहेको भारतले दाबी गर्दै आएको छ।भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा बल लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण घटनाका रुपमा रहेको थियो।
छुट्टी मनाएर काममा फर्कदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो।
यस आक्रमणको जैस ए–मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको थियो । सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि काश्मिरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो। आणविक हतियार भएका भारत र पाकिस्तानबीच काश्मिरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्ककारी समूह र उनका मालिकले ठूलो गल्ती गरेका र यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए।
पाकिस्तानले भने भारतको दाबी असत्य रहेको जनाएको छ। भारतीय सञ्चारमाध्यम र सरकारले काश्मिर आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भनी गरिएको दाबी असत्य भएको र कुनै किसिमको अनुसन्धान बेगर पाकिस्तानविरुद्ध भारतले आरोप लगाउनु दुःखद भएको पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो।
Post a Comment