Latest Updates :

रामकृष्ण विदेशबाट कोमामा फर्केपछि श्रीमतीले गरिन् दोस्रो विवाह

SHARE THIS POST :
वृद्धा आमा घरि छोराको र्‍याल पुछिदिन्छिन् त घरि दिसापिसाब सोहोर्छिन् । कसैगरी छोरालाई सफासुग्घर राख्ने र सजिलो गरी सुताउने ध्याउन्न उनमा छ । नातिनातिना, वृद्धा पति र अचेत (कोमा) अवस्थाको छोराको जिम्मेवारी सम्हाल्ने जिम्मेवारी उनै ६९ वर्षीया माया मगरातीको काँधमा छ ।

चाँगुनारायण नगरपालिका ९, संगमटोलका ४२ वर्षीय रामकृष्ण सार्की ०६६ फागुनमा परिवारको भविष्य उज्ज्वल बनाउने सपना बुन्दै साउदी अरब छिरे । दुई वर्ष राम्रै कमाइ गरे । बिदामा घर आए । फेरि ०६८ असोजमा दोस्रोपल्ट साउदी पुगेका रामकृष्ण फागुनमा अस्वस्थ बने । उनको आशा निराशामा बदलियो । स्वास्थ्यले साथ दिएन । ‘विदेशी भूमिमा पनि आफ्नो परम्परागत पेसा (जुत्ता सिलाउने) काम गर्न पाएकोमा खुसी थियो, कमाइ पनि राम्रै थियो,’ उनका बुबा चतुरे सार्कीले भने, ‘त्यो खुसी धेरै दिन टिकेन, सिंगो परिवारमै ब्रजपात पर्‍यो ।’ दिनभरको ड्युटी सकाएर कोठामा आराम गर्दै गरेका रामकृष्ण एक्कासि अस्वस्थ भए । एक्कासि मुटु दुख्यो भनेर साथीहरूले अस्पताल लैजाँदा उनको शरीरका अंगले काम गर्न छाडिसकेको थियो ।

उनी चार वर्षयता कोमामा छन् । साउदीमा २ वर्ष कमाएको पैसा तीन महिना उपचार गर्दैमा सकियो । रामकृष्णको कमाइले नपुगेपछि कम्पनीले उनलाई नेपाल फर्काइदियो । कमाउन गएका श्रीमान् कोमामा फिर्ता भएपछि दुई छोरी, एक छोरा र वृद्धवृद्धा सासूससुरालाई छोडेर रामकृष्णकी श्रीमतीले दोस्रो विवाह गरेर गइन् ।

हाल रामकृष्णका छोराछोरी र वृद्धवृद्धा आमाबुबा बिचल्लीमा छन् । रामकृष्णलाई साउदीस्थित राजदूतावासले वीर अस्पतालसँग समन्वय गरी नेपाल पठाएको र सीधै वीर अस्पताल पुर्‍याइएको परिवारले जनाएको छ । तीन महिना वीर अस्पतालमा उपचार गराउँदा पनि उनको स्वास्थ्यमा केही सुधार भएन । उनका बुबाले भने, ‘परिवारको आयस्रोत पनि नभएको र बिरामीको स्वास्थ्यमा केही सुधार नभएपछि डाक्टरकै सल्लाहमा भगवान भरोसा सम्झिँदै घरमा ल्याएर राखेका छौं ।’ केही महिना गाउँमा चन्दा उठाएर घर खर्च गरेको र हाल अन्नपात केही नहुँदा बिहान/बेलुका हातमुख जोर्न पनि धौधौ परेको उनले गुनासो गरे ।‘सम्पत्तिको नाममा भएको घर पनि भत्किएर घडेरीमात्र बाँकी छ,’ रामकृष्णकी आमा माया मगरातीले भने, ‘पकाएर खाने अन्न केही छैन, बालबच्चा पालौं कि अचेत छोरालाई स्याहारौं ।’

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger