Latest Updates :

दाङमा भयो यस्तो अचम्मको चमत्कार, अविवाहित निशा ८ कक्षासम्म केसी, ९ कक्षामा घर्ती

SHARE THIS POST :
उनले कक्षा १ देखि कक्षा ८ पढ्दासम्म आफ्नो थर केसी लेख्थिन्। कक्षा ९ देखि घर्ती लेख्नुपर्‍यो! साथीहरू सोध्छन् किन केसीकी छोरीले घर्ती लेखाउँछेस्?

यो खबर नारायण खड्काले सेतोपाटीमा लेखेका छन् । दाङ बबईको जनकल्याण माध्यामिक विद्यालय पदमपुरमा कक्षा १० अध्यनरत १५ वर्षीया निशाको मन थरको पिरलोले खाइरहन्छ। साथीहरूको प्रश्नको उत्तर दिन पनि झिँजो लाग्छ।

उनलाई बिहे भएपछि थर फेर्नुपर्ने समाजको रितिले ‘बाध्य’ पारेको भने होइन। उनी अविवाहित नै छन्। उनको थरको कथा अचम्मको छ। यो कथाको श्रृखंला उनकी आमा हरिकलाको दोस्रो बिहेबाट सुरू हुन्छ।

झन्डै १९ वर्षअघि हरिकलाका पहिलो पति रामबहादुर घर्तीको मृत्यु भयो। ४/५ वर्ष उनले एक्लै संघर्ष गरिन्। आफ्ना छोराहरू हुर्काउनमा दत्तचित्त भइन्।

समयसँगै उनको घाउ बिस्तारै पुरिन थाल्यो। मनमा बिस्तारै माया अंकुराउन थाल्यो। गाउँकै कविराज केसीसँग उनीबीच माया हुर्कियो।

केसी विवाहित थिए। त्यसैले उनीहरूले भागेर विवाह गरे। सीमापारि उत्तर भारतको कुल्लु-मनालीमा वर्षदिन जति बसे। निशा त्यही सुन्दर पहाडी शहरमा जन्मिन्। केही समय पछि तीनै जना गाउँ फर्किए।

कविराजले हरिकलालाई आफ्नो घरमा भित्र्याउन सकेनन्। हरिकलाले पनि उनको घरमा अर्की पत्नीसँग बस्न जान मन गरिनन्। उनी आफ्नै घरमा बसिन्।

‘म हेर्ने कुरा सबै हेरिहाल्छु यतै बस भन्नुभयो र हामी आमा छोरी मेरै घरमा बस्यौं,’ हरिकलाले सेतोपाटीसँग भनिन्, ‘झगडा होला भनेर मलाई पनि उहाँको घरमा जान मन लागेन।’

सल्लाहले नै उनीहरू आ-आफ्नो घर बसे। तर सम्बन्ध भने कसिलो थियो। हरिकलाको घरमा कविराज आइरहन्थे। हरिकलाको माया र छोरीको नियास्रोले उनलाई डोराएर ल्याउँथ्यो।

‘छोरी भनेपछि हुरूक्कै गर्नुहुन्थ्यो। औधीमाया गर्ने,’ हरिकलाले सम्झिइन्। सारा गाउँलेलाई थाहा छ, निशा यी दुई जोडीकी सन्तान हुन्।

त्यहीबीचमा कविराज एकाएक बिरामी परे। केही समयमै उनको मृत्यु नै भयो। त्यतिखेर निशा ५ वर्षकी थिइन्। स्कुल जान थालेपछि उनले आफ्नै बुवाको थर लेख्न थालिन्- निशा केसी।

८ कक्षासम्म उनी यही नाम लेखाएर पढिन्। ९ कक्षामा पुग्दा भने स्कुलले जन्मदर्ता खोज्यो। त्यसपछि उनको हैरानी सुरू भयो।

‘परेको बेला हेर्छु’ भन्ने बुवा छोडेर गए। समाजका तमाम आमाको जस्तै उनकी आमाको पनि आफ्नै थर छैन। उनले पहिलो बिहेपछि श्रीमानको नामबाट आफ्नो नागरिकता बनाएकी छन्। जो निशाका बुवा हैनन्।

जब छोरीको जन्मदर्ता गराउनु पर्‍यो हरिकला उनको दोस्रो पतिको घर गइन्। केसी परिवारले निशालाई आफ्नो परिवार स्वीकारेन। बुवाकी जेठी श्रीमतीपट्टीबाट जन्मेकाले दाइहरू निशालाई बहिनी मान्न तयार भएनन्।

जन्मदर्ता गराउन र निशाको थर सरकारी तवरमै केसी लेख्न राज्यले दाइहरूको स्वीकृति माग्यो।

झगडा पर्ला भनेर आफ्ना पतिको घरमा नगएकी हरिकला यत्रो वर्षपछि त्यही घरविरूद्ध उजुरी दिन प्रहरीमा जान बाध्य भइन्।

हापुरे प्रहरीमा उनले निवेदन दिइन्। जिल्ला प्रशासन कार्यालय पुगिन्। ६० वर्षीया हरिकला र उनकी छोरी निशालाई न्याय दिन कोहीअघि सरेन। कतै न्याय मिलेन।

प्रहरी, प्रशासन जो बलियो उत्तैतिर ढल्कियो।

निशाका दाजुहरू कोही शिक्षक, कोही राजनीतिज्ञ, कोही सुरक्षाकर्मी छन्। सबैले उनीहरूकै कुरा सुने। जहाँ निशा पढिरहेको त्यही विद्यालयमा आज पनि उनका जेठा दाजु पूर्णबहादुर केसी शिक्षक छन्। उनी स्कुलमा गणित र अर्थशास्त्र पढाउँछन्।

हापुरे प्रहरीमा दुई वर्ष अगाडि भएको छलफलमा उनै शिक्षक दाइले अघि सरेर भने, ‘बुवाले दोस्रो बिहे गरेको मैले थाहा पाएको छैन।’

निशाको जन्मदर्ता केसी थरबाट गर्न नदिने अडान लिएर उनी हिँडे।

उनको त्यही अडान प्रहरीको फैसला बन्यो। घोराहीस्थित जिल्ला प्रशासन कार्यालयले पनि त्यही ‘न्याय’ दोहोर्‍यायो।

‘हापुरे थानामा छलफल गर्ने भनेर गयौं। मलाई बोल्न पनि दिएनन्,’ हरिकलाले भनिन् ‘सबै जता बल्ले उतै ढल्ले भनेजस्तै गरे। पैसा ख्वाएछन् कि क्या हो घोराही जाँदा पनि न्याय पाइएन।’

हरिकला वकिल कहाँ पनि पुगिन्। कानुन व्यवसायीले पतिको नामबाट भोट हालेको (मतदान) गरेको प्रमाण भएमा मात्रै काम हुने भन्दै फर्काइदिए।

हरिकलाका अनुसार निशा ७ कक्षा पढ्ने बेलासम्म पनि केसी परिवारले केसीकै थरबाट जन्मदर्ता र नागरिकता बनाइदिने वचन दिएका थिए।

एकाएक उनीहरु परिवर्तन भए।

त्यतिन्जेल छोरीले अंश पाउने कानुन बनेको थिएन। २०७२ सालमा छोराछोरी दुबैले पैतृक सम्पत्ति पाउने कुरा संविधानमै लेखियो। निशाका दाजुहरूको मन त्यसपछि बदलिएको देखिन्छ।

त्यो बेलासम्म बहिनी मानेका उनीहरूले अकस्मात चिन्दिनँ भन्न थाले।

‘सायद मेरा दाजुलाई सम्पत्ति दिनुपर्ला भन्ने त्रास छ। त्यही भएर उनीहरूले मलाई अपमान गरेका छन्। बावुबिनाकी छोरी बनाउन खोजेका छन्,’ निशाले भनिन्।

राज्यलाई उनको प्रश्न छ- मेरो अधिकार दिलाउन पनि राज्य किन उनीहरूकै स्वीकृति माग्छ? मेरो आवाज कसैले किन सुन्दैन?

निरूपाय भएपछि हरिकलाले आफ्ना पूर्वपतिको नामबाट छोरीको जन्मदर्ता बनाइदिइन्। निशा घर्ती बनिन्। नौ कक्षाको फारम भर्ने गर्जो टर्‍यो।

तर निशाको भविष्य र अधिकारको प्रश्न ज्युँकात्युँ छ।

‘केसीको छोरीलाई घर्तीको छोरी भनेर जन्मदर्ता गराउँदा मेरै मन यति रोएन,’ हरिकलाले भनिन् ‘आज पनि छोरीले मलाई किन न्याय दिन सक्नु भएन भनेर भनेर सोध्छे। मेरो छाती चिरिन्छ।’

जन्मदर्ता बने पनि नागरिकता बनाउन बाँकी छ। अझैपनि हरिकलालाई मन छ- छोरीले आफ्नै बावुको थर पाओस्। आफ्नै थर भएको भए उनी छोरीलाई त्यही थरको पहिचान दिन्थिन्। तर आफ्नो नामको पछि पूर्वपतिको थर झुण्डिएको छ।

निशालाई पनि आफ्नी आमाका पूर्वपतिको थरले बिझाइरहन्छ। दाजुहरूको अपमानले कम बिझाउँदैन।

यसपाली उनले टेस्ट परीक्षा दिइन्। एसइइ सकेपछि अर्को साल त नागरिकता बनाउनु पर्छ। त्यो बेला बुवाको थर पाउँला कि नपाउँला भन्ने सोचेरै उनी आँत्तिन्छन्। आफ्ना बुवालाई उनी अलिअलि सम्झिन्छन्।

त्यही सम्झनाको त्यान्द्रोले उनलाई बल पनि दिन्छ।

भन्छिन्- म बुवाआमाकी छोरी हुँ। आमाको आफ्नै थर छैन उहाँका पहिलो पतिको थर मलाई चाहिन्न। कम्तिमा मैले मेरो बुवाको थरबाटै नागरिकता पाउनु पर्छ।’

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger