Latest Updates :

मायाको चिनो मिर्गौला! श्रीमतीलाई आफ्नै मिर्गौला दिने श्रीमान भन्छन, ‘औधी माया गर्छु मेरी बुढीलाई’

SHARE THIS POST :
कति माया गर्नुहुन्छ श्रीमतीलाई ?’, बाबुराम तामाङलाई सिधा प्रश्न ।‘औधी माया गर्छु मेरी बुढीलाई,’ सोझो उत्तर ।श्रीमतीप्रति माया व्यक्त गर्ने योभन्दा बढी शब्द भेटाउँदैनन्, बाबुराम ।

मानौं यो संसारमा उनको माया व्यक्त गर्नका लागि पर्याप्त शब्द अविष्कारै भएको छैन।‘माया त भन्नको लागि होइन, गर्नका लागि हो,’ श्रीमतीतर्फ सोझिएका बाबुरामका आँखाले यस्तै केही बोलेजस्तो लाग्छ । छेउमै रहेकी श्रीमती गोपी तामाङको भाषा पनि उस्तै, ‘खै मलाई त माया देखाउँनै आउँदैन ।’दुई दशकदेखि गोपीलाई देखाउन नआउने त्यही मायाले बाबुराम पुलकित छन् ।

मागी बिहे भएको यो दुई दशकसम्म उनीहरुबीचको मायामा कहिल्यै झार उम्रिएन । त्यसैले त ओइलाएकी गोपीलाई आफ्नो मिर्गौला दिएर फक्राएका छन् बाबुरामले ।

उस्तै श्रीमान भएको भए सोच्न सक्थे, ‘श्रीमतीलाई पनि कहीँ मिर्गौला दिन्छन् ? मरिहाली भने अर्को बिहे गर्ने पो त !’ तर, बाबुराम भने गोपीलाई मिर्गौला त के मुटु नै दिन तयार छन् । गोपीको मायाले भक्कानिने बाबुरामको मुटुले यस्तै भन्छ । ‘उ विना बाँच्ने त म कल्पनै गर्न सक्दैन, ४२ वर्षीय बाबुराम बर्बराउँछन् ।’ ४२ वर्षकै गोपीले आँशु रोक्ने प्रयास गर्छिन् ।

****

शनिबारको दिन । फुर्सदमा थिइन् गोपी । अरु दिन भएको भए भारतीय दूतावासको गार्डेनमा व्यस्त हुन्थिन् । हामी ठूलोभर्याङस्थित उनको घरमा पुग्दा उनी घरमै थिइन् । १० बजेसम्ममा बिहानको सम्पूर्ण काम सक्काइसकिन् । आजको ठीक दुई बर्ष पहिलेको शनिबार गोपीको जीवनमा ग्रहण लागेको थियो । दुब्लाएर सिन्काजस्ती भएकी उनी निदान हस्पिटलमा थिइन् । श्रीमान उनीसँगै हुन्थे । गोपीको दुवै मिर्गौला काम नलाग्ने भइसकेका थिए । डायलोसिस गरिरहन्थिन् । तर, बेलाबेला स्वास फेर्न निकै गाह्रो पथ्र्यो ।‘मेरैअघि कति जना मरिरहेका हुन्थे’, गोपी थामिन सक्दिनन्, ‘म अब बाँच्दिनँ, यसरी नै जान्छु भन्ने लाग्थ्यो ।’

****

गोपी तीन वर्ष पहिले नै सुनिन थालेकी थिइन् । श्रीमती मोटाएको सम्झेर बाबुराम सुरुमा त खुशी भए । तर, विभिन्न समस्या देखिन थालेपछि उनले गोपीलाई वीर अस्पताल लगे । डाक्टरले मुटुको समस्या देखाए । त्यसपछि उनी गंगालाल पुगिन् । गगांलालले त मुटुमा होइन मिर्गौलामा समस्या देखायो ।

अनि फेरि उनीहरु वीरमा आए । वीरका डाक्टरले दुवै मिर्गौला काम नलाग्ने भएको बताए । बाबुराम र गोपी दुवैलाई डाक्टरको कुरामा विश्वास गर्न गाह्रो प¥यो । घरमा फर्किएपछि गोपीले भनेकी थिइन्, ‘आ.. केके हो केके । धामी कहाँ गए एउटा भन्छ, डाक्टरकहाँ गए अर्को भन्छ ।’

एक बर्षपछि गोपी झन्झन् सुन्निदै गइन् । बाबुरामले फेरि वीर लगे । वीरले फेरि दोहो¥यायो, ‘मिर्गौलाले कामै नगर्ने भएको छ । प्रत्यारोपण नै गर्नुपर्छ, सानो खर्चले पुग्दैन ।’

अब भने उनीहरु आत्तिए । बाबुरामलाई त सपनाजस्तो लाग्यो । विश्वास गर्न सकिरहेका थिएनन् उनले । ‘त्यसपछि घरमा आएँ, अनि ढोका थुनेर एक्लै बेस्सरी रोएँ’, गोपी अहिले पनि उसरी नै भक्कानिन्छिन् ।

अन्तत तितो वास्तविकता स्वीकार गरेर उनीहरु दुवै निदान अस्पताल पुगेका थिए । शुरुमै डाक्टरले भने, ‘पहिला बचाउनतर्फ लागौं, त्यसको लागि डायलोसिस शुरु गर्नुपर्छ ।’ बाबुराम ठूलो सास फेर्छन्, ‘एक महिना ढिलो भएको भए आज बुढी हामीसँग हुने थिइन ।’

डायलोसिस शुरु भएपछि गोपी उल्टो हिम्मत हार्दै गएकी थिइन् । घरको आर्थिक अवस्थाले नधानेर बाबुरामले साथी, आफन्तसँग हात फैलाउन परिरहेको थियो । मिर्गौला दिने व्यक्ति भेटिएको थिएन । घर–व्यवहार तहसनहस भएको थियो । निर्माण व्यवसायी बाबुराम पनि काममा जान सकिरहेका थिएनन् । गोपी भन्छिन्, ‘मलाई त बाँच्छु जस्तै लागेको थिएन ।’

****

एक दिन बाबुरामले अनायास गोपीलाई भने, ‘तिमीलाई म दिन्छु मिर्गौला ।’

श्रीमतीले श्रीमानलाई, छोरीले बाबालाई, आमाले छोरालाई मिर्गौला दिएको उदाहरण थुप्रै छन् । तर, श्रीमानले श्रीमतीलाई मिर्गौला दिएका घटना निकै कम सुनिन्छन् । बाबुराम भने आफ्नो निर्णयमा दृढ थिए । ‘मैले धेरै सोँचे । एक मन त नदिउँ जस्तो पनि लागेको थियो । तर, अर्को विहे त गरौंला तर, योजस्तो अर्को बुढी त पाउन सक्दिनँ भन्ने लाग्यो । उसको मायाले नै मिर्गौला दिन तयार भएँ’, बाबुरामले सुनाए । तर, गोपीलाई आफ्नोभन्दा बढी माया श्रीमानको थियो । त्यसैले भनिरहन्थिन्, ‘भो जे हुन्छ हुन्छ, मिर्गौला नदिनुस् । तपाईले काम गर्नुपर्छ ।’

बाबुरामले सुनेको नसुनै गरे । बरु जीवनमै पहिलोपटक रगत जाँच गरे । उनको ब्लड ग्रुप रहेछ ओ–पोजेटिभ । अर्थात युनिभर्सल डोनर । कस्तो संयोग । श्रीमतीलाई मिर्गौला दिनुपर्छ भनी ओ पोजटिभ ब्लड ग्रुप लिएर जन्मिएजस्तो । गोपी भक्कानिन्छिन्, ‘उहाँले नै जवरजस्तीले मिर्गौला दिएर बचाउनुभयो । मैले त बाँच्ने आशा मारिसकेकी थिएँ ।’

वीर अस्पतालमा मृगौला प्रत्यारोपण गरेको तीन महिनापछि उनीहरु घर फर्किए । केही समयपछि गोपी पनि काममा जान थालिन् । दुईमध्ये एक छोरीको बिहे भइसकेको छ । छोरा ११ मा अध्ययन गर्दैछन् । अहिले गोपीभन्दा बढी खुशी बाबुराम छन् । कहिले काहीँ गोपी विरामी भएको थाहा पाउँदा पनि उनको कटक्क मन खान्छ ।

‘भोलि को पहिला मरिन्छ थाहा छैन । तर, अहिले सँगै बाँच्न पाउँदा दुवै जना खुशी छौं,’ बाबुराम भावुक मुद्रामा बोल्छन्, ‘मेरै मिर्गौलाले हामी जोडिएका हौं । अहिले अझ नजिक जस्तो लाग्छ । अझ धेरै माया लाग्छ ।’

एकोहोरो बाबुरामको अनुहारमा टोलाइरहन्छिन् गोपी । एकछिनपछि बगेका आँशु पुछ्दै भन्छिन्, ‘म धेरै भाग्यमानी !’

भन्छन् नि, त्यागले मायालाई जिवन्त बनाउँछ । हो, उनीहरुबीचको माया जिवन्त छ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger