आउँदो २० गते मनाइने शिवरात्री तथा सेना दिवसको दिन हेलिकोप्टरबाट पुष्पवृष्टिसहितका अरु कार्यक्रम हुने भएकाले त्यस दिनको तयारीका लागि अहिले ‘रिहर्सल’ गरिएको नेपाली सेनाले प्रष्ट पारेको छ । आज मात्रै होइन सेनाका अनुसार शिवरात्रीको अघिल्लो दिनसम्म नै यस्तो ‘रिहर्सल’ हुनेछ नेपाली सेनाले महाशिवरात्रीको दिन सेना दिवस मनाउदै आएको छ । सेना दिवसको अवसरमा नेपाली सेनाले काठमाडौंको टुडिखेलमा बिशेष कार्यक्रमको समेत आयोजना गर्दै आएको छ ।अघिल्लो बर्ष नेपाली सेना दिवसमा सहभागी हुन भारतीय स्थल सेना प्रमुख विपिन राउत नेपाल आएका थिए। नेपाल एकीकरण भएको सम्झनामा सेनाले मनाउँदै आएको सेना दिवसमा भारतीय सेना प्रमुखको त्यो पहिलो सहभागिता थियो।यसक्रमको शुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ । काठमाडौं आसपासमा केही हप्ता अगावै आकाशमा सेनाका हेलीकप्टरका लर्को र हवाई परेड अभ्यास देखिन थालिएको छ ।उसो त महाशिवरात्री पर्वकै दिन नेपाली सेनाको स्थापना दिवस संयोगमात्र होइन, तत्कालिन राजा पृथ्वीनारायण शाहको कमाण्डमा नेपालको पहिलो सैनिक संरचना शिवरात्रीकै दिन बनेको इतिहास साक्षी छ ।नेपाली सेना स्थापनाको एउटै मिति नभएको र बिभिन्न मितिमा संगठित भएकाले महाशिवरात्रीलाई सेना दिवसका रुपमा मनाउने गरिएको इतिहासविदहरुले दावी गरेका छन् ।
इतिहासको फरक दावी
सन् १७४४ मा तत्कालिन गोर्खा राज्यले संगठित गरेको नेपाली सेना मैदानमा उत्रिदासम्म दक्षिण एशियाका अरु देशमा आफ्नै सैनिक संरचना थिएन । त्यसैले नेपाली सेनालाई दक्षिण एशियाकै सबैभन्दा पूरानो सैनिक संगठन मानिन्छ ।पृथ्वीनारायण शाहको गोर्खाली फौजले नुवाकोट र सन १७४४मा छिमेकी कान्तिपुर राज्य कब्जा गरेपछी गोर्खाली फौजलाई शाही नेपाली सेनाको रुपमा चिनिन थालेको इतिहासविद दिनेशराज पन्त बताउछन् ।नेपाली सेना कति सालमा स्थापना भयो भन्ने ठ्याक्कै मिति पाइदैन । तर सन् १७४४ अर्थात विक्रम संवत १८०१ देखि नेपाली सेनाले यो मुलुकको स्वतन्त्रता,अखण्डता र सार्वभौकिताको रक्षा गरेको इतिहास छ ।व्यारेकीय संरचनाको हिसाबले नेपाली सेना विक्रम सम्बत १८१९ फागुन १० गते पोरखा गोरख गणका रुपमा स्थापित भएको इतिहासकारहरुले विभिन्न सन्दर्भमा उल्लेख गरेका छन् । त्यसअघि नेपाली सेना रहे पनि गण बनिसकेको थिएन ।तर इतिहासविद डा.प्रेमसिंह बस्न्यातले भने नेपाली सेनाको शुरुवात विक्रम सम्वत १६१६ मा गोरखा राज्यको स्थापनासँगै शुरु भएको दावी गरेका छन् । यस हिसाबले नेपाली सेनाको इतिहास ४ सय ५५ वर्ष भइसकेको छ ।तर करीव दुई सय वर्ष त्यो सेनाले खासै कुनै लडाइ लडेको पाइदैन । भगिरथ पन्तको कमाण्डबाट शुरु भएको गोरखा राज्यको सेना हाल नेपाली सेनाका रुपमा गौरव शमसेर जबराको नेतृत्वमा छ ।
त्यतिबेलाको गोर्खा फौज र त्यसपछिको शाही नेपाली सेनाको वीरता, शाहस र समर्पणबाट प्रभावित भएका तत्कालिन बि्रटिश इष्ट इण्डिया कम्पनीले आफ्नो सेनामा नेपालीहरुलाई भर्ति लिन थालेको सुगौली सन्धीपछि हो ।भारतबाट ब्रिटिसहरु हिडेपछि पनि उनीहरुले आफ्नो सेनामा नेपालीलाई लिने क्रम अहिलेसम्म जारी छ । बेलायती सेनामा अलग्गै गोर्खा रेजिमेन्ट कायमै छ ।नेपाली सेनाको सञ्चालन तथा शुरुवात तत्कालिन बडामाहाराजाधिराज पृथ्वीनारायण शाहबाट भएको थियो । शाही सेना, नेपाली सेना हुँदै पृथ्वीनारायण शाहका ११ औं पुस्ताका राजा ज्ञानेन्द्र शाहको पालामा राजतन्त्र अन्त्यसँगै सेना पनि राजाबाट जनताको नियन्त्रणमा आएको मानिन्छ ।२०६३ साल जेठ ४ गतेको तत्कालिन पुनर्स्थापित प्रतिनिधिसभाको घोषणबाट शाही नेपाली सेनाको नाम नेपाली सेना बनाइएको थियो । त्यस लगत्तै २०६३ मा अन्तरिम संसदले सैनिक ऐन पारित गरि सेनामाथि राजदरवारको नियन्त्रण पूर्ण रुपमा अन्त्य गरी संसदको माताहत ल्याएको हो । २०६८ सालमा तत्कालिन माओवादी लडाकुहरुलाई समेत समायोजन गरिएपछि राष्ट्रिय सेनाको संख्या हाल करीव ९५ हजार रहेको छ ।
Post a Comment